त्रिदेशीय शृंखलामा नेपालको विजयी सुरुवात
काठमाडौँ । आइसीसी विश्वकप लिग(२ त्रिकोणात्मक शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ। आइतबार भएको शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो। नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो।
क्यानडालाई कम स्कोरमा रोक्न नेपालका लागि करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान दुई विकेट लिए।
आरोन जोनसनले बनाएको ४४ रन नै क्यानडाका लागि सर्वाधिक रह्यो। समित गोहेलले ३५, श्रेयास मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन थपे। अखिल कुमार ३० रनमा अविजित रहे।
त्यसअघि ओमानको अल अमेरेट क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली निर्धारित ५० ओभरमा २३५ रनमा अलआउट भयो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक १०१ रनको योगदान दिए। उनले १२७ बलमा आठ चौका र एक छक्का हाने।
गुल्सन झा ३४ बलमा ४ चौका र ३ छक्का सहयोगमा ४८ रन थप्दै आउट भए। बसिर अहमदले ३० रन बनाए।
ओपनर अर्जुन कुमाल ५४ बलमा २३ रन बनाउँदा आउट हुन पुगे। आशिफ शेख तीन बलमा एक चौका हान्दै अखिल कुमारको बलमा आरोन जोनसनको हातबाट क्याच आउट भए।
इसान पाण्डे शून्यमा नै पेभेलियन फर्किए। करण केसी आठ र दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए।
क्यानडाका लागि अखिल कुमारले चार, सुखजिन्दर सिंह तीन र जाहिद सिरजादले दुई विकेट लिए।
सिरिजको दोस्रो खेलमा नेपाली टोलीले मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ। लिग–२ को अन्तिम सिरिज खेलिरहेको नेपालले क्यानडालाई हराएसँगै शीर्ष ६ मा रहेर एक दिवसीय वरियता जोगाउने सम्भावना जिवित राखेको छ।
लिग–२ सिरिजमा नेपालको शीर्ष चारमा रहने सम्भावना यसअघि नै सकिएको थियो। शीर्ष चारको दौडबाट बाहिरिएपछि नेपालले ग्लोबल छनोट खेल्ने सम्भावना सकिएको हो।
शीर्ष चारमा रहेर ग्लोबल छनोट खेल्ने सम्भावना सकिएपछि नेपाली टोलीसामु अब एक दिवसीय मान्यता जोगाउने बाटो मात्र बाँकी छ।
नेपालले अब क्यानडालाई अर्को खेलमा हराउनुका साथै ओमानलाई पनि दुईमध्ये एक खेलमा हराउनु पर्ने चुनौती छ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।