ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया
काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा क्याम्पस स्थापना गर्ने वा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार ठाटीकाँध गाउँपालिका १ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा सर्वपक्षीय अन्तक्रिया कार्यक्रम गरिएको हो ।
उच्च शिक्षा हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय विद्यार्थीलाई आफ्नै गाउँमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित छलफलमा क्याम्पसको आवश्यकता, आर्थिक स्रोत, गुणस्तरीय शिक्षा र दीर्घकालीन सञ्चालनबारे विभिन्न धारणा प्रस्तुत भएका छन्।
दशरथ माध्यमिक विद्यालय प्याडुल्लीका प्रधानाध्यापक अम्मर शाहीले पर्याप्त तयारीबिना क्याम्पस स्थापना गरिए त्यो ‘सेतो हात्ती’ बन्न सक्ने बताए । उनले विद्यालयहरूमा रहेका विद्यमान समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै स्थानीय विद्यार्थीको आवश्यकता, रुचि, रोजगारीको सम्भावना र बजारको मागअनुसार शैक्षिक कार्यक्रम छनोट गर्नुपर्ने धारणा राखे ।
उनका अनुसार क्याम्पस स्थापना गर्ने निर्णय गर्नुअघि स्थानीय सरकारले आफ्नो दायित्व पूरा गर्न सक्ने अवस्था छ वा छैन भन्ने विषयमा समेत स्पष्ट हुन आवश्यक छ।
दशरथ माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक गणेशबहादुर शाहीको अध्यक्षतामा भएको बैठकले उनकै संयोजकत्वमा प्रारम्भिक रूपमा १५ सदस्यीय अध्ययन तथा अनुसन्धान समिति गठन गरेको छ ।
कार्यक्रमले स्थानीयस्तरमा क्याम्पस स्थापना तथा सञ्चालनको सम्भाव्यता अध्ययन गर्न गणेशबहादुर शाहीको संयोजकत्वमा प्रारम्भिक रूपमा १५ सदस्यीय अध्ययन तथा अनुसन्धान समिति गठन गरेको छ।
छलफल कार्यक्रममा ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालले विद्यालयका शिक्षकको तलब भुक्तानीमा देखिएको समस्यालाई उठाउँदै नयाँ शैक्षिक संस्था सञ्चालनको आर्थिक क्षमतामाथि प्रश्न गरेका थिए । उनका अनुसार ७० देखि ७५ लाख रुपैयाँसम्म जम्मा गरेर केही महिनाको तलब भुक्तानी गरिए पनि अझै केही महिनाको तलब दिन बाँकी रहेको छ । शिक्षकको तलबसमेत नियमित रूपमा भुक्तानी गर्न कठिन भइरहेको अवस्थामा थप आर्थिक दायित्वसहित क्याम्पस सञ्चालन गर्न सकिने आधार के हो भन्ने प्रश्न उनले उठाएका थिए ।
बडुवालले उपलब्ध आर्थिक स्रोत, संस्थागत क्षमता र दीर्घकालीन दायित्वको सुनिश्चितता नगरी क्याम्पस स्थापनाको योजना अघि बढाउन नहुने आशय व्यक्त गरे ।
त्यस्तै ठाटीकाँध गाउँपालिकाका पूर्वअध्यक्ष धीरबहादुर शाहीले स्थानीय आवश्यकताका आधारमा शैक्षिक कार्यक्रम तय गर्नुपर्ने बताए । उनले मानविकी तथा फार्मेसीलगायतका विषयलाई प्राथमिकतामा राख्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा क्याम्पस स्थापना गर्ने वा प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्ने विषयसँगै कुन विषय अध्ययन गराउने, विद्यार्थीको माग कस्तो छ र अध्ययनपछि रोजगारीको सम्भावना कति छ भन्ने विषयमा समेत ध्यान दिनुपर्ने धारणा प्रस्तुत भएका थिए ।
ठाटीकाँध गाउँपालिका लगायत आसपासका क्षेत्रका विद्यार्थी उच्च शिक्षा हासिल गर्न नजिकको छिमेकी पालिका चामुण्डा र सुर्खेत लगायतका अन्यत्र ठाउँमा जानुपर्ने बाध्यतामा छन् । आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न कारणले बाहिर गएर अध्ययन गर्न नसक्ने विद्यार्थीलाई स्थानीयस्तरमै उच्च शिक्षाको अवसर उपलब्ध गराउनु यस पहलको प्रमुख उद्देश्य रहेको छ ।
तर, क्याम्पस स्थापना गर्ने विषयमा सहभागीहरूबीच फरक–फरक धारणा देखिएका छन् । एक पक्षले स्थानीय विद्यार्थीलाई सहज रूपमा उच्च शिक्षा उपलब्ध गराउन क्याम्पस आवश्यक रहेको बताएको छ भने अर्को पक्षले आर्थिक स्रोत, विद्यार्थी संख्या, गुणस्तर र दीर्घकालीन सञ्चालनको सुनिश्चिततापछि मात्र निर्णय लिनुपर्नेमा जोड दिएको छ।
समग्रमा ठाटीकाँधको शैक्षिक विकासका लागि क्याम्पस स्थापना वा प्राविधिक शिक्षा सञ्चालनमध्ये कुन विकल्प उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुग्न विस्तृत सम्भाव्यता अध्ययन, स्थानीय आवश्यकता पहिचान, सम्बन्धित विद्यालयसँगको सहकार्य र आर्थिक स्रोतको सुनिश्चितता आवश्यक देखिएको छ ।
छलफलकै क्रममा श्री कृष्ण माध्यामिक विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समिति(विव्यस) अध्यक्ष योगेन्द्रराज थापा (अनाम)ले क्याम्पस स्थापना किन, कहाँ र कसरी गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । उनले ठाटीकाँधमा क्याम्पसको वास्तविक आवश्यकता, सञ्चालन गरिने विषय, स्थापना गर्ने स्थान र स्थानीय सरकारको आर्थिक तथा व्यवस्थापकीय क्षमताको यथार्थ मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
योजना बनाउनु मात्र सफलता नभएको उल्लेख गर्दै उनले उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आवश्यक तयारीका आधारमा निर्णय लिनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा अन्य सहभागीहरूले क्याम्पस स्थापना गर्नुअघि विद्यार्थीको आवश्यकता, उपलब्ध स्रोतसाधन र आर्थिक क्षमताको अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्। केही वक्ताले स्थानीयस्तरमा उच्च शिक्षा आवश्यक रहेको बताए भने अन्यले पर्याप्त तयारीबिना क्याम्पस सञ्चालन गर्दा आर्थिक भार बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।