Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति

NepalBeat
NepalBeat मंगलबार, १३ भदौ २०८३

काठमाडौँ । बुढीगण्डकी बाढीबाट पाँच जना सम्पर्कविहीन बनेका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार साँझ ६ बजेसम्म १३२ संरचना क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुंगे पुल, तीन वटा जलविद्युत् आयोजना र चार वटा हवन कुण्डमा क्षति पुगेको छ।

त्यस्तै, बाढीबाट ४५ वटा घर पूर्ण रुपमा र २७ वटा घरमा आंशिक क्षति भएको छ। यससँगै ३४ गोठ, १२ वटा बंगुरका खोर तथा गोदाममा क्षति भएको छ। तीन वटा सवारी साधनमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतको उङिलुङबाट दुई जना महिला र तीन जना पुरुष सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी जारी रहेको जनाएको छ।

यस क्रममा बाढी प्रभावित ८२ जनाको उद्धार गरिएको छ। जसमा नौ जना विदेशी नागरिक छन्।  खोज तथा उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। यससँगै चार वटा सैनिक हेलिकप्टर पनि परिचालन गरिएका छन्।

गोरखाको चुमनुब्री गाउँपलिका–६ स्थित चुम्लिङ नजिकै उङिलिङ खोलाबाट गेग्रान वहाव आएर स्यारखोला थुनिएको पाइएको प्राधिकरणले जनाएको छ। थुनिएको केही समयपछि फुटेर बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको प्रारम्भिक विश्लेषण रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *