वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष बिनोदसिंह बिष्टले एमालेसँगको २६ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
एमालेबाट निर्वाचित वडा अध्यक्ष बिष्टले पार्टी नेतृत्व जनमुखी हुन नसकेको, नेतृत्व हस्तान्तरण नगरेको र नयाँ जनमतलाई कदर नगरेको आरोप लगाएका छन् । जनप्रतिनिधिका रूपमा काम गरिरहेको अवस्थामा आफ्नै पार्टी नेतृत्वबाट असहयोग हुने गरेको उनको गुनासो छ।
त्यति मात्र होइन, पार्टीभित्र नातावाद र कृपावाद हाबी भएको, नेतृत्वबाट जथाभावी अभिव्यक्ति आउने गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
बिष्टका अनुसार, यिनै कारणले आफूले एमालेबाट अलग हुने कठोर निर्णय गरेको उनको भनाइ छ।
वडाध्यक्ष पद पनि छाड्छन् त ?
बिष्टले वडाध्यक्ष पदबाट राजीनामा दिने विषय कानुनी प्रक्रियामा निर्भर रहने बताएका छन्। उनी तत्काल अर्को राजनीतिक दलमा प्रवेश गर्ने वा नगर्नेबारे भने अहिलेसम्म स्पष्ट भएका छैनन्।
पछिल्लो समय एमालेबाट दैलेखका युवा नेता नबिन कुमार योगी लगायतका नेता कार्यकर्ताको ठूलो पंक्तिले पार्टी छाडिरहेका बेला वीरेन्द्रनगर–३ का वडाध्यक्ष बिष्टको यो निर्णयले पनि राजनीतिक वृत्तमा चासो बढाएको छ ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।