Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

NepalBeat
NepalBeat ७ घण्टा अगाडि

काठमाडौँ  –   पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वीखण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । ‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डीएलपी) सुरु भइसकेको छ’, उनले भने, ‘डीएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।’ इन्जिनियर पाण्डेका अनुसार कुल ४१.४५ किमी दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमी सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वीखण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएको उनले बताए ।

तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम विसं २०७८ वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पूर्वीखण्ड निर्माणको जिम्मा पाएको थियो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै संघीय राजधानी काठमाडौं, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।

आयोजनाको पश्चिमखण्ड (पोखरा–जामुने) का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मंसिरभित्र काम सक्ने लक्ष्य लिइएको बताए । ‘पश्चिमखण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झण्डै पाँच किमी जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ’, उनले भने, ‘रोड मार्किङ, ट्राफिक संकेत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित काम धमाधम भइरहेको छ ।’

पोखरा महानगरपालिका– १०, अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताए । निर्माणको काम सकिएपछि पश्चिमखण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डीएलपी) को चरण रहने उनले बताए । ‘सडक हस्तान्तरण गरे पनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डिएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ’, उनले भने ।

कुल ३८.८८ किमी दूरीको पश्चिमखण्डमा १८.५ किमी दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताए । ‘पश्चिमखण्डमा शहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो’, उनले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।’ यसखण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।

तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिमखण्डमा २ जेठ २०७८ मा सम्झौता भई १२ भदौ २०७८ देखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिमखण्डको ठेक्का पाएको थियो । कुल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घन्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य भएको छ । सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरू पनि खुला र आकर्षक देखिएका छन् । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *