Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

NepalBeat
NepalBeat ७ घण्टा अगाडि

म्याग्दी –  म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ ।

पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको रु १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।

म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराइएको पुनमगर समाजका योगकुमार फगामीले जानकारी दिए ।

मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले रु दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले रु ५० हजार उपलब्ध गराएका छन् ।

त्यसैगरी, बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही रु १० हजारका दरले एक लाख ३० हजार वितरण गरिएको छ । पर्वत जिल्लामा रु दुई लाख ५० हजार सहयोग गरिएको छ ।

म्याग्दीका प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि राहत रकम उपलब्ध गराइएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रु ५० हजार, मालिका र मङ्गला गाउँपालिकाको कोषमा रु २५ हजारका दरले सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि रु तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि रु दुई लाख, काफलडाँडाका लागि रु दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि रु ६४ हजार ३७५ सहयोग हस्तान्तरण गरिएको छ ।

पर्वतका मिर्गौला पीडितलाई रु एक लाख ५५ हजार सहयोग गरिएको छ । समाजले विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरेको जनाएको छ ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *