तीव्र गतिमा भरिँदै कुलेखानी जलाशय
काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। पछिल्लो जानकारीअनुसार जलाशयको पानीको सतह बढेर १५२८.२५ मिटर पुगेको छ।
जलाधार क्षेत्रमा भइरहेको निरन्तर भारी वर्षाका कारण जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ। जलाशयको सतह १५२८।५० मिटर पुगेपछि पहिलो सुरक्षा साइरन बजाइने भएको छ।
हालको जलसतह र साइरन बजाउने तहबीच २५ सेन्टिमिटर मात्रै फरक रहेकाले जलाशयको सतह केही बढ्नासाथ पहिलो चेतावनी साइरन बज्नेछ। जलाशयको अधिकतम भण्डारण क्षमता १५३० मिटर हो।
हालको जलसतह अधिकतम क्षमताभन्दा १.७५ मिटर मात्रै कम छ। साइरन बजाइए पनि सर्वसाधारणलाई नआत्तिन र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरिएको छ। साइरन चेतावनी प्रणालीअन्तर्गत बजाइने भएकाले यसलाई अनावश्यक त्रासका रूपमा नलिन अनुरोध गरिएको हो।
यसअघि नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलसतह सन्तुलित राख्न आवश्यक परे ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने जनाएको थियो।
ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना जारी गर्नुका साथै चेतावनीको साइरन पुनः बजाइने केन्द्रले स्पष्ट पारेको थियो। आयोजनाले ड्यामको तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपास बसोबास गर्ने सर्वसाधारणलाई खोला तथा नदी किनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
त्यस्तै, देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। जलाशयको सतह बढिरहेको र साइरन बजाउने तह नजिकिँदै गएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आयोजनाले जारी गर्ने आधिकारिक सूचनाको पालना गर्न आग्रह गरिएको छ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।