Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

मौलापुर दलित बस्ती निर्माणमा बालेन सरकारको अवरोध किन : दासले मागे जवाफ

NepalBeat
NepalBeat ७ घण्टा अगाडि

रौतहट –  आम जनता पार्टीका सचिव एवं आम दलित मोर्चाका राष्ट्रिय अध्यक्ष ठागा दासले रौतहटको मौलापुर नगरपालिकाद्वारा सोनरनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको निर्माण कार्य संघीय सरकारले रोकेकोमा गम्भीर आपत्ति जनाएका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सार्वजनिक रूपमा प्रश्न गर्दै वर्षौंदेखि आवासविहीन दलित परिवारका लागि निर्माण भइरहेको बस्तीको काम रोक्नुको कारण स्पष्ट पार्न माग गरेका छन् ।

दासले मौलापुर नगरपालिकाद्वारा सोनरनियामा अगाडि बढाइएको एकीकृत दलित बस्ती निर्माण कार्यलाई संघीय सरकारले एकाएक रोक्नु दुःखद, आपत्तिजनक र निन्दनीय भएको बताएका छन् । विपन्न तथा आवासविहीन दलित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको योजनामा सरकारले नै अवरोध सिर्जना गर्नु सामाजिक न्यायको सिद्धान्तविपरीत भएको उनको भनाइ छ ।

उनले नेपालको संविधानले आवासको अधिकारलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै दलित तथा विपन्न समुदायका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गरेका छन् ।

ुवर्षौंदेखि आवासविहीन दलित परिवारको सुरक्षित बासस्थानको सपना पूरा गर्नुपर्ने राज्यले उल्टै बस्ती निर्माणमा अवरोध सिर्जना गर्नु अत्यन्तै दुःखद विषय हो,ु दासले भने ।

दासले स्थानीय तहले अघि बढाएका विकास निर्माणका काममा संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न नहुने तर्क गर्दै यसले स्थानीय सरकारको अधिकार र विपन्न नागरिकको संवैधानिक हकमाथि प्रश्न खडा गरेको बताएका छन् ।

उनले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै सोनरनिया दलित बस्ती निर्माण रोक्नुको औचित्य सार्वजनिक गर्न र तत्काल निर्माण कार्य सुचारु गराउन विशेष आग्रह समेत गरेका छन् ।

उनका अनुसार आवास केवल घर निर्माणको विषय मात्र नभई सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारसँग जोडिएको विषय हो। त्यसैले दलित समुदायको आवासको सपना पूरा गर्ने अभियानलाई राजनीतिक आग्रह–पूर्वाग्रह वा प्रशासनिक हस्तक्षेपका आधारमा रोक्न नहुने उनले बताए।

सोनरनिया एकीकृत दलित बस्ती निर्माणमा संघीय सरकारले रोक लगाएको विषयले स्थानीय विकास, दलित अधिकार र संघीय सरकार तथा स्थानीय तहबीचको समन्वयको प्रश्नसमेत उठाएको छ ।

दासले दलित समुदायको सम्मान, सामाजिक न्याय र संवैधानिक अधिकारको सुनिश्चितताका लागि बस्ती निर्माण कार्यलाई तत्काल निरन्तरता दिन सरकारसँग माग गरेका छन् ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *