कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा
दैलेख – ‘मैले विरोध गर्दा त चुप भन्छौ,
यदि प्रकृतिले विरोध गरे के गर्छौ?’
यी कविताका हरफ पढ्दा तपाईँको मन मष्तिस्कले ठम्याइसक्यो होला । एउटा नाम मनिषा । हो, १३ वर्षीया मनिषा थापाका कविताका यीनै हरफले निर्णायक देखि दर्शक श्रोताको मन जित्न सफल छन् । उनका कवितामा यो प्रश्न सामान्य प्रश्न होइन । यो प्रश्न प्रकृतिमाथि बढ्दो दोहन, मानवीय स्वार्थ र आफूलाई सर्वशक्तिमान ठान्ने प्रवृत्तिमाथिको प्रश्न हो ।
‘दोहोन गरेर प्रकृति छोडिदिन्छु यो धर्ती भन्छौँ,
तर याद राख, यो तिमीले बनाएको रोबोट होइन ।
यो एआई होइन, यो प्रकृति हो ।’
उमेरले भर्खर १३ वर्ष पुगेकी मनिषाको कवितामा उठ्ने प्रश्न भने निकै गहिरा छन् । उनका शब्दमा प्रकृति छ, संस्कृति छ, समाज छ, मानवीय संवेदना छ । अझ सबैभन्दा बढी छ–आफ्नो समय र समाजलाई बुझ्ने एउटा किशोरीको दृष्टि ।
‘यो प्रवृत्ति होइन, यो प्रविधि होइन,
जसमाथि तिम्रो घमण्ड चलोस्,
जसमाथि तिम्रो कब्जा चलोस् ।’
यिनै शब्दरूपी वाणले अहिले मनिषाले दर्शक–श्रोताको ध्यान तानिरहेकी छन् । देशभित्र मात्रै होइन, उनका कविता देशबाहिर रहेका नेपाली दर्शक–श्रोतासम्म पनि पुगिरहेका छन् ।
उनी फेरि प्रश्न गर्छिन–
‘बन्द गर तिम्रो दोहनको भोक,
नष्ट गरिदेऊ यो लालचको बीउ,
बन्द गर यो ताकतको घमण्डीपन ।
बाँच्न देऊ मलाई,
श्वास फेर्न देऊ मलाई ।
बाँच्न देऊ हामीलाई,
श्वास फेर्न देऊ हामीलाई ।’
यी हरफमा एउटा १३ वर्षीया कवियित्रीको आवाज मात्रै छैन । यसमा प्रकृतिको अस्तित्व जोगाउने आग्रह छ । भावी पुस्ताको चिन्ता व्यक्त गरिएको छ । र छ–मानिसले आफ्नो विकासको नाममा प्रकृतिमाथि गरिरहेको अत्याचारको प्रतिरोध । शब्दमा प्रकृति मात्रै छैन, परदेशी नेपालीको पीडा पनि छ । मनिषाको सिर्जनशीलताको दायरा प्रकृतिमा मात्रै सीमित छैन । उनले वैदेशिक रोजगारीका लागि आफ्नो घर, परिवार र देश छोड्न बाध्य नेपालीका पीडालाई पनि कवितामा उतारेकी छन् ।
‘कसरी बिर्सूँ त्यो पल,
जहाँ विमानस्थलबाट विमान उड्दा
म यो देशमा हुनुको अस्तित्व उडेको थियो ।’
त्यसपछि उनका शब्द अझ भावुक बन्छन्–
‘कसरी बिर्सूँ त्यो मन भारीको क्षण,
सपना अनि बाध्यताको लाचारी क्षण ।
सपनाका घरहरू भत्किएपछि
सपनाको ठेकीको डोरी चुटेको क्षण ।’
यी शब्दले परदेशिने नेपालीको मन मात्र होइन, उनीहरूलाई विमानस्थलसम्म पु¥याएर फर्किने परिवारको मन पनि छुन्छ । विमान चढेर नयाँ भविष्य खोज्न निस्किएको मानिससँगै घरमा बाँकी रहने आशा, प्रतीक्षा र पीडालाई मनिषाले कविताको शब्दमा बाँधेकी छन् । सायद त्यसैले उनका कविता सुन्दा दर्शकले केवल कविता सुन्दैनन्–आफ्नै जीवनको कुनै एउटा कथा भेट्छन् ।
१ हजार ८ सय प्रतिस्पर्धीबाट टप ६ सम्म
यीनै कविताका हरफबाट दर्शक श्रोताको मन जित्दै दैलेखको ठाटीकाँध गाउँपालिका–६ तोलिजैसीकी १३ वर्षीया मनिषा थापा अहिले ‘जुनियर पोइम आइडल’को टप ६ मा पुग्न सफल भएकी छिन् ।
देशभरबाट सहभागी करिब १ हजार ८ सय प्रतियोगीबीच प्रतिस्पर्धा गर्दै उनले आफ्नो प्रतिभा प्रस्तुत गरिन् । उत्कृष्ट प्रस्तुति दिँदै टप १२ मा स्थान बनाएकी मनिषाले त्यसपछिको छनोट चरणमा पनि प्रभावकारी कविता वाचन गरिन् ।
उनको सिर्जनशीलता, प्रस्तुति शैली र आत्मविश्वासले निर्णायक तथा दर्शकको ध्यान खिच्दै उनलाई टप ६ सम्म पु¥याएको हो । पश्चिम दैलेखको ग्रामीण भूगोलबाट राष्ट्रियस्तरको मञ्चमा पुगेकी मनिषाको यो यात्रा उनका लागि मात्र होइन, पश्चिम नेपालका लागि पनि गौरवको विषय बनेको छ ।
मनिषाको प्रतिभा पारिवारिक वातावरणबाट पनि जोडिएको देखिन्छ । उनका बुवा जयबहादुर थापा पश्चिम नेपालमा देउडा कलाकार तथा खेलाउडाका रूपमा परिचित छन् । देउडाको लय, संस्कृति र शब्दसँग नजिक रहेर हुर्किएका बुवाको कलात्मक यात्राको प्रभाव छोरीको सिर्जनशीलतामा पनि देखिन्छ । तर मनिषाले आफ्नो बाटो भने कवितामा रोजिन् ।
बुवा देउडाको भाकामा पश्चिम नेपालको संस्कृति र जीवन बोल्छन् भने छोरीका कवितामा प्रकृति, समाज, संस्कृति र नेपालीको पीडा बोल्छ ।
राष्ट्रियस्तरको मञ्चमा छोरीको सिर्जनशीलता र मेहनत देख्दा आफूलाई खुशीसँगै गर्व लागेको मनिषाका बुवा जयबहादुर थापा बताउँछन् । ‘छोरीले गरेको मेहनत र उनको शब्द तथा प्रस्तुति शैली सबैले मन पराएर साथ दिनुभएको छ । टप १२ बाट टप ६ सम्म पु¥याउन सहयोग गर्ने सम्पूर्ण दर्शक–श्रोताप्रति धन्यवाद छ,’ उनी भन्छन्, ‘आगामी चरणमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ ।’
बुवाका लागि छोरी प्रतियोगितामा अघि बढेको खुसी मात्र होइन । आफ्नै कलात्मक यात्राको अर्को पुस्ता फरक शैलीमा अगाडि बढिरहेको गर्वको क्षण पनि हो ।
मनिषाको यात्रा अर्को कारणले पनि विशेष छ । उनकी १६ वर्षीया दिदी निशा थापा पनि ‘जुनियर पोइम आइडल’को टप १२ सम्म पुग्न सफल भएकी थिइन् ।
एउटै परिवारका दुई दिदीबहिनीले राष्ट्रियस्तरको कविता प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गर्नु आफैँमा उल्लेखनीय उपलब्धि हो ।
मनिषा अहिले टप ६ मा पुगिसकेकी छन् भने दिदी निशाले पनि टप १२ सम्म पुगेर परिवारको सिर्जनशील पहिचानलाई राष्ट्रिय मञ्चमा पु¥याएकी छन् । यसले परिवारमा मात्रै होइन, ठाटीकाँधदेखि पश्चिम नेपालसम्म उत्साह थपेको छ ।
ठाटीकाँध गाउँपालिका–६ निवासी जयबहादुर थापा र मोतिकला थापाकी छोरी मनिषा हाल भक्तपुरस्थित वागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । सानैदेखि कविता लेखन र वाचनमा रुचि राख्दै आएकी उनले आफ्नो रुचिलाई अहिले राष्ट्रिय मञ्चमा पु¥याएकी छन् ।
उनको सफलताले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ–प्रतिभा सहरमा मात्रै जन्मिँदैन । दुर्गम गाउँको आँगनमा हुर्किएको प्रतिभाले पनि अवसर पाए राष्ट्रिय मञ्चमा आफ्नो आवाज बुलन्द बनाउन सक्छ । मनिषा त्यसकै एउटा उदाहरण हुन् ।
अब टप ६ बाट कता ?
मनिषाको यात्रा अहिले निर्णायक मोडमा पुगेको छ । टप ६ मा पुग्नु ठूलो उपलब्धि हो । तर उनको लक्ष्य यहाँ रोकिने होइन । अबका चरणमा उनको कविता, प्रस्तुति, सिर्जनशीलता र दर्शकको साथले उनको यात्राको दिशा तय गर्नेछ । अहिले उनी टप ‘वान’ का लागि प्रतिसपर्धा गरिरहेकी छन् । उनलाई भोटिको आवश्यक परेको छ । आफुलाई भोट गर्न समेत सबैमा अनुरोध गरेकी छन् ।
दैलेखको तोलिजैसीबाट सुरु भएको उनको यात्रा अहिले देश–विदेशका नेपाली दर्शक–श्रोतासम्म पुगेको छ । उनका शब्दले प्रकृतिलाई प्रश्न गरिरहेका छन् । उनका शब्दले समाजलाई सोच्न बाध्य पारिरहेका छन् । उनका शब्दले परदेशिएका नेपालीको पीडा बोलिरहेका छन् ।
अब प्रतीक्षा छ–जुनियर पोइम आइडलको टप ६ बाट तोलिजैसीकी मनिषा थापाको कविताको यात्रा कहाँसम्म पुग्छ ? कवियित्री मनिषालाई आगामी चरणको शुभकामना ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।