गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ । उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ ।
अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव परीक्षणलाई जिल्ला सदरमुकाम लैजानुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ ।
दुई जना विशेषज्ञ चिकित्सक, दुई नर्सिङ अधिकृत, पाँच स्टाफ नर्स, छ प्यारामिडिक्स, एक फर्मासिस्ष्ट, एक ल्याव टेक्निसियनसहित २६ जना जनशक्ति दरबन्दी रहेको उक्त अस्पताल शव परीक्षण अनुमति प्राप्त जिल्लाको चौथो स्वास्थ्य संस्था हो ।
यसअघि सिन्धुली जिल्ला अस्पताल, दूधौली आधारभूत अस्पताल, हरिहरगढी आधारभूत अस्पतालबाट त्यो सेवा उपलब्ध हुँदै आएको थियो । पन्ध्र शय्याको उक्त आधारभूत अस्पतालको नयाँ भवन अघिल्लो वर्ष निर्माण सम्पन्न भई नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
उक्त अस्पतालबाट हाल दैनिक ७० देखि १०० जनाले स्वास्थ्य सेवा लिइरहेको जनाइएको छ ।
राज्यद्वारा जनतालाई प्रदान गरिने स्वास्थ्यसहितका सेवा सुविधा स्थानीय तहबाटै सहज, सुलभ र सरल रूपमा गराउने राष्ट्रिय अठोटअनुरुप सञ्चालित उक्त अस्पतालाई थप सवल तुल्याउँदै लगिने पालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।