बुधबार, १३ भदौ २०८३ (बि.सं.) |
NepalBeat.com © 2026. सर्वाधिकार सुरक्षित।

आज राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज (बुधबार) राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने र केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज साँझ अद्यावधिक गरेको बुलेटिनअनुसार राति कोसी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

यसैगरी कोसी प्रदेशको तराई भूभागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि राति मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोसी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, बागमती प्रदेशका पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भने आज राति भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। साथै बंगालको खाडीको न्यूनचापीय क्षेत्र (डिप्रेसन) हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा छ। आगामी दिनमा यो थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।

जसको प्रभाव नेपालमा पर्ने र आगामी शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने सम्भावना छ। त्यसो त यसको आंशिक प्रभाव आजैदेखि परिसकेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा भइरहेको मौसम बदली र वर्षामा पनि मनसुनी वायुसँगै बंगालको खाडीको प्रणालीको प्रभाव पनि मिसिएको छ।

‘हाल उक्त प्रणालीको आंशिक प्रभाव कोसी, बागमती र गण्डकी प्रदेशको पूर्वी क्षेत्रमा मात्र परेको छ’, उनले भने, ‘यसको प्रभाव भोलि, पर्सि क्रमश: बढ्दै जानेछ।’

उनका अनुसार मौसम महाशाखाले मंगलबार जारी गरेको विशेष बुलेटिनबमोजिम नै यस प्रणालीको ठुलो प्रभाव शुक्रबादेखि आइतबारसम्म पर्नेछ र यस अवधिमा देशका अधिकांश स्थानमा मध्यम र केही स्थानमा भारी, धेरै भारी र अति भारीसम्म वर्षा हुने सम्भावना छ।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *