परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
काभ्रे – तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन् । परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले पाँच रोपनीबाट सुरु गरेका फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ ।
नौ वर्षअघि स्वदेश फर्किएका घिमिरेले सुरुका दुई–तीन वर्ष कुनै काम गरेनन् । तर, लामो समय काम गरेर बिताएका उनलाई घरमै निस्क्रिय भएर बस्न सहज भएन । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचसहित उनले कृषि व्यवसाय रोजे । यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो ।
पाँच वर्षअघि कृषि व्यवसाय सुरु गरेका घिमिरेले सुरुका दुई वर्ष गोलभेँडा र काँक्रोखेती गरे । तरकारीखेतीबाट अनुभव बटुलेका उनले पछि फूलखेतीको सम्भावना देखे । दसैँ र तिहारजस्ता पर्वमा सयपत्री फूलको माग हुने भएकाले त्यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने सोचअनुसार पाँच रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरेको उनले बताए ।
पहिलो वर्षको उत्पादन र बिक्रीको अनुभवले उनलाई यस व्यवसायमा अघि बढ्न थप हौसला मिल्यो । सुरुमा सीमित क्षेत्रफलमा गरिएको खेतीलाई विस्तार गर्दै अहिले १४ रोपनीमा पु¥याएका छन् । उनले जापानी र थाई जातका हाइब्रिड सयपत्री फूल लगाएका छन् ।
फूलखेतीका लागि बिरुवा रोप्ने काम साउन महिनादेखि सुरु हुन्छ । रोपेको करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने घिमिरेले बताए । दसैँ र तिहारमा फूलको खपत बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर खेती व्यवस्थापन गर्दै आएका छन् ।
फूलको मौसम सकिएपछि उनी खेतबारी खाली राख्दैनन् । सयपत्री फूलको बिक्रीको समय सकिएपछि अन्य सागसब्जी तथा तरकारी लगाउने गर्छन् । एउटै खेतीमा मात्र निर्भर नभई वर्षभरि जमिनको उपयोग गर्ने उनको अभ्यास छ ।
घिमिरेको फूलखेतीले उनलाई मात्र होइन, अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ । खेतीमा १० जना कामदार संलग्न छन् । फूल रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने र टिप्ने काममा उनीहरूको सहयोग लिने गरिएको छ । व्यावसायिक खेती विस्तारसँगै कामदारको आवश्यकता पनि बढेको उनले बताए।
गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गर्नुभएका घिमिरेले बिक्रीबाट खर्च कटाउनुअघि करिब रु १८ लाख आम्दानी गरेका थिए । यस वर्ष पनि फूलको उत्पादन राम्रो भएको उनले बताए । तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उनको अनुभव छ । बजारको माग र मूल्यले किसानको आम्दानी निर्धारण गर्ने भएकाले उनी अहिले फूल बिक्रीको उचित समय पर्खिरहेका छन् ।
यस वर्ष तिहार केही ढिला परेकाले फूलको बिक्री र मूल्यमा असर पर्न सक्ने उनको अनुमान छ । उत्पादन राम्रो भए पनि तत्कालै सबै फूल बिक्री नगरी तिहारको मुखमा मूल्य बढ्ने आशासहित बजारको अवस्था पर्खिरहेको उनले बताए । यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब रु २५० पुग्ने उनको अपेक्षा छ ।
“उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो मूल्य आउँछ कि भन्ने आशा छ”, किसान घिमिरेले भने । उनका अनुसार किसानका लागि उत्पादन गर्नु एउटा पक्ष हो भने उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नु अर्को चुनौती हो ।
फूलको उत्पादन राम्रो भए पनि बजारमा माग र मूल्य कस्तो हुन्छ भन्ने कुरा पहिल्यै निश्चित गर्न सकिँदैन । पर्वको समयमा एकैपटक धेरै किसानको उत्पादन बजारमा पुग्ने भएकाले मूल्यमा उतारचढाव हुनसक्ने जोखिम रहने उनको अनुभव छ । किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित हुनसके व्यवसायलाई थप व्यवस्थित बनाउन सहज हुने उनले बताए ।
स्वदेशमै फूल उत्पादन भइरहेका बेला विदेशबाट आयात हुने गरेकोप्रति उनको असन्तुष्टि छ । नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको बजार विस्तार हुने र किसानलाई थप प्रोत्साहन मिल्ने उनले बताए । विशेषगरी तिहारका बेला स्वदेशी फूलको माग र खपत बढाउन सके स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने घिमिरेको अपेक्षा छ ।
“कहिलेकाहीँ सन्तुष्ट छु, कहिलेकाहीँ असन्तुष्ट पनि हुन्छु । नेपालका किसानलाई सम्बन्धित निकायले पर्याप्त ध्यान दिनुपर्छ । स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो”, उनले भे ।
विदेशमा लामो समय बिताएर फर्किनुभएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायमा रमाएका छन् । उनका लागि फूलखेती आम्दानीको माध्यममात्र बनेको छैन, काम गर्ने इच्छा र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्ने अवसरसमेत बनेको छ । फूलको मौसममा सयपत्री र अन्य समयमा सागसब्जी तथा तरकारी उत्पादन गर्दै उनले वर्षभरि खेतबारीलाई व्यस्त राखेका छन् ।
कृषि व्यवसायलाई निरन्तरता दिँदै आएका घिमिरे अहिले उत्पादनसँगै बजारको अवस्थालाई पनि उत्तिकै महत्त्व दिन्छन् । मिहिनेत गरेर उत्पादन गरेको फूलले उचित मूल्य पाउनसके किसानलाई यस क्षेत्रमा टिकिरहन सहज हुने उनको विश्वास छ । स्वदेशमै उत्पादन र बजारीकरणको वातावरण बन्नसके पुष्पखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना गर्न सक्ने उनको अनुभव छ ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।