पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
काठमाडौँ – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा माथिबाट पहिरो खस्दा दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि सडक माथिबाट सुक्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा बन्द भएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा समेत सडक अवरुद्ध भएको छ ।
यसैगरी, ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पनि यातायात प्रभावित भएको छ । ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाटमा अविरल वर्षाका कारण पानीको बहाव बढेपछि करिडोरमा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेको छ । पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा ढुङ्गासहितको पहिरो खस्दा कालीगण्डकी करिडोरको पक्की सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, मुगुको छायानाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्डमा पनि यातायात अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र बाढीले अवरोध पुर्याएपछि यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।