Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक

नेपालबीट संवाददाता
नेपालबीट संवाददाता ५ घण्टा अगाडि

काठमाडौँ । गायक तथा संगीतकार सुरज पण्डित र गायिका शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक भएको छ । मौलिक गाउँले प्रेमकथा, ग्रामीण जनजीवन र सोल्टासोल्टिनीबीचको मायालु संवादलाई समेटेर तयार पारिएको गीतले दूरीका बाबजुद गहिरिँदै जाने प्रेमको भाव प्रस्तुत गरेको छ।

गीतमा प्रेममा परेका दुई मनबीचको आत्मीयता, एकअर्काप्रतिको सम्झना र भेटघाटको पर्खाइलाई रमाइलो तथा प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ। प्रिय व्यक्तिको मुस्कानमा जून देख्नु, उसको नजरमा हराउनु र मनभरि उसकै नाम सजाउनुलगायतका भावले गीतलाई प्रेममय बनाएको छ।

सहरमा जस्तो सहज भेटघाट गर्न नसकिने गाउँले परिवेश, घरबीचको दूरी र भेट्नका लागि गर्नुपर्ने पर्खाइलाई गीतको मुख्य विषय बनाइएको छ। स्थानीय बोलीचाली, ग्रामीण जीवनशैली र मौलिक लोकलयको संयोजनले नेपाली गाउँघरको प्रेमकथालाई जीवन्त रूपमा चित्रण गरेको छ।

कर्णालीको जनजीवन र विकासका सवाल समेटिएको चर्चित गीत ‘रेलको बाटो’ बाट आफ्नो छुट्टै पहिचान बनाएका सुरज पण्डित सामाजिक यथार्थ र मौलिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्दै आएका छन् । त्यस्तै, ‘बोल माया’, ‘गलबन्दी’ र ‘रुकुम मैकोट’ जस्ता चर्चित गीतमार्फत श्रोतामाझ लोकप्रिय बनेकी गायिका शान्तिश्री परियारसँगको उनको सहकार्यले नयाँ गीतलाई थप आकर्षक बनाएको छ।

प्रतिमा अधिकारी र सुरज पण्डितको शब्द रचना रहेको गीतमा सुरज पण्डितकै संगीत छ। कुशल सिंह निएलले संगीत संयोजन गरेको गीतमा समूह गायनतर्फ सुनिता बीके, बिन्दु बीसी र पावेन्द्र सुनारले साथ दिएका छन् ।

भौतिक दूरीले भेटघाट कठिन बनाए पनि मनको आत्मीयता र प्रेमको गहिराइलाई कमजोर बनाउन सक्दैन भन्ने भाव गीतले बोकेको छ। मौलिक गाउँले परिवेश र लोकलय मन पराउने श्रोताका लागि ‘हाम्रो त घरै टाढा छ’ प्रेम, सम्झना र ग्रामीण जीवनको मिठास समेटिएको नयाँ सांगीतिक प्रस्तुति बनेको छ।

नेपालबीट संवाददाता

नेपालबीट संवाददाता

नेपालबीट संवाददाता

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *