बिहीबार, १३ भदौ २०८३ (बि.सं.) |
NepalBeat.com © 2026. सर्वाधिकार सुरक्षित।

दाङका पाँच सडकखण्ड राति बन्द हुने

रूपन्देही । भारीदेखि अति भारी वर्षाको सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँचवटा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार दाङसहित देशका विभिन्न भूभागमा असोज ८ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कार्यालयले असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सम्बन्धित सडकखण्डमा आवागमन बन्द रहने जनाएको हो । वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गर्ने व्यवस्था गरिएको हो ।

प्रशासनका अनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी सडकखण्ड, घोराही–मुर्कुटी सडकखण्ड र तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सडक रातिको समयमा बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेद्वारा जारी सूचनामा सडक बन्दको व्यवस्थालाई यात्रु तथा सर्वसाधारणको सुरक्षासँग जोडेर आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै तोकिएको समयअघि नै यात्रा व्यवस्थापन गर्न तथा सडक बन्दसम्बन्धी सूचनाको पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

सडकको अवस्था र मौसममा आएको परिवर्तनअनुसार थप निर्णय तथा सूचना जारी हुनसक्ने प्रशासनले जनाएको छ ।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *