Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

NepalBeat
NepalBeat १६ मिनेट अगाडि

चितवन –  दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् ।

दसैँका समयमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व सङ्कलन भएको उनले बताए । नेपाली पर्यटकबाट रु १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट रु आठ लाख ३१ हजार र तेस्रो मुलुकका पर्यटकबाट रु एक करोड ४७ लाख ३० हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

निकुञ्जभित्र वर्षात्का समयमा जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी यथावत् रूपमा सञ्चालन हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, मेघौलीबाट ११ वटा, अमलटारीबाट आठ वटा र माडीबाट एउटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यो समयमा दुर्लभ पाटेबाघसमेत देखिएपछि निकुञ्ज सफारीमा पर्यटकको आकर्षण थप बढेको छ ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *