Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

NepalBeat
NepalBeat बुधबार, १३ भदौ २०८३

कास्की –  गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन्।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए। गत वर्ष असोजमा ३० हजार ५४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

चालु आवमा सबैभन्दा बढी पर्यटक असोजमा भित्रिएका हुन् । भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ पर्यटक आएका थिए। असोज, कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो बेला पर्यटक आगमन बढ्ने गरेको आयोजना प्रमुख डा कडरियाको भनाइ छ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन्। शरद याम पदयात्राका लागि उत्तम मानिने हुँदा यस क्षेत्र पदयात्रा रुचाउने पर्यटकको रोजाइमा पर्ने गरेको छ।

यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ।

आयोजना प्रमुख डा कडरियाका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन्। सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ। प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्रलाई पर्यटकले रुचाउने गरेका हुन् ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *