Nepal Beat
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

जेठी श्रीमतीबारे हर्कको प्रष्टीकरणः पहिल्यै अलग भएका हौँ, छोरीलाई हेरिरहेको छु

NepalBeat
NepalBeat ७ घण्टा अगाडि

विराटनगर । श्रम-संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई श्रीमतीको प्रसंगमा सार्वजनिक प्रष्टीकरण दिएका छन् । उनले जेठी श्रीमतीसँग कानूनीरूपमा पहिल्यै अलग भइसकेको बताए ।

साम्पाङले जेठी पत्नी दिलमाया राईलाई कुटपिट गरी घरबाट निकाला गरेको भन्दै सुनसरी जिल्लामा परेको मुद्दाको फैसला अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दिलमायाले २०७३ असोज ६ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनको फिराद पत्रमा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको थियो ।

फैसलामा साम्पाङका दाजुभाइसहित सगोल सम्पत्ति पाँच अंशियार कायम गरी एक अंश जेठी पत्नी दिलमाया राईलाई छुटाउनुपर्ने ठहर छ । अदालतद्वारा सम्पत्ति पाँच भाग लगाएर साम्पाङको भागमा पर्ने एक हिस्सालाई उनी, पत्नी दिलमाया र छोरी एलिसाबीच ३ भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने फैसलामा उल्लेख छ ।

अदालतले नाता, पुस्तावली तथा पेस भएका प्रमाणहरू अध्ययन गरी हर्क, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसमाया राई, धनकुमारी राई गरी ५ अंशियार कायम गरेको हो ।

दिलमायाको फिराद पत्रमा वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झैँझगडा र कुटपिट गर्ने गरेको दावी गरेकी छन् । हर्कराजले परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप समेत फिराद पत्रमा लगाइएको थियो । हर्क वैदेशिक रोजगारीमा गएको र विदेशबाट फर्किएर पनि आफूमाथि हिंसा गरेको उनको आरोप छ ।

फिरादपत्रमा प्रहरीमा रिपोर्ट गरेपछि हर्कराजले ‘के गर्नु पर्छ गर, कहाँ जानु पर्छ जा, तँलाई घरमा बस्न दिन्न, खान लाउन पनि दिन्न’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको उल्लेख छ ।

दिलमाया हाल वैदेशिक रोजगारीमा गएकी छन् । लामो समय उनी दुबई बसेको र अहिले इजरायल पुगेको बताइन्छ । उनकी छोरी भने धरानमा बस्दै आएकी छन् ।

सम्पाङले मानिसको आ(आफ्नै विगत हुने भन्दै जेठी श्रीमतीलाई आफूले घरेलु हिंसा नगरेको बताएका छन् । सामाजिक सञ्जालमा आहिले भाइरल भएको अदालतको फैसला र जेठी श्रीमती दिलमाया राईले लगाएको आरोप सबै मिथ्या भएको उनको दाबी छ ।

कन्टेन्ट क्रिएरटरहरूसँग कुरा गर्दै आफू प्रश्नहरूबाट नभाग्ने उनले बताए । हर्कले भने, ‘मैले १२ वर्ष पर्खँदा पनि डिभोर्स नै गर्न चाहेकाले उहाँको इच्छा अनुसार नै छुट्टिएका हौँ । यो आजभन्दा करिब २० देखि २५ वर्ष अघिको कुरा हो ।’

१२ वर्षको लामो पर्खाइपछि पुनः मिलनको प्रस्ताव राख्दा जेठी श्रीमतीले अस्वीकार गर्दै मुद्दाहरू दर्ता दायर गरेको उनले बताए । छोरीको जिम्मेवारी र हेरचाह नगरेको भनेर सामाजिक सञ्जालमा उठेका प्रश्नप्रति उनले छोरीलाई आफैँले पढाएको र विवाह नभएसम्म आफैँसँग राखेर हुर्काएको प्रष्ट पारे ।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *