राहत र उद्धारमा जुट्न कांग्रेस सभापति थापाको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसले निम्त्याएको प्रतिकूल परिस्थितिमा तत्कालका लागि अधिवेशन भन्दा राहत र उद्धार पहिलो प्राथमिकता भएको बताएका छन् ।
सभापति थापाले लेखेका छन्, ‘देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको छ।’
सभापति थापाले थप लेखेका छन्, ‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। भौतिक र साङ्गठनिक प्रक्रियाभन्दा नागरिकको जीवनको सुरक्षा ठुलो कुरा हो, त्यसैले जोखिम रहेका स्थानमा निर्वाचनका गतिविधिहरू रोकेर नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्छ।’
सभापति थापाले कांग्रेसका सम्पूर्ण तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यहरूलाई विपद्मा परेका नागरिकको सेवाका लागि खटिन निर्देशन दिएका छन् । ‘आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई विशेष आग्रह गर्दछु,’ थापाले लेखेका छन् ।
पार्टीको तर्फबाट सभापति थापाले स्थानीय तहमा रहेका पार्टीका संरचनाहरूलाई सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय स्वयंसेवकहरूसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।