Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको टिप्पणी, सरकारमाथि उठाए प्रश्न

NepalBeat
NepalBeat शनिबार, १३ भदौ २०८३

काठमाडौँ –  नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्।

पक्राउ परेका पत्रकार छुटिसके र कुरा सकियो भन्दैमा यस्तो किन गरियो, निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने भन्ने मुख्य प्रश्नको जवाफ जरुरी रहेको उनले बताएका छन्।

केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतङ्क सिर्जना गर्ने व्यक्तिको पहिचान गरेर सार्वजनिक गर्न सरकारले नचाहेको उल्लेख गर्दै उनले अहिले सञ्चारगृहभित्रै छिरेर पत्रकार पक्राउ पर्दा प्रधानमन्त्री कार्यालयले गिरफ्तारीमा आफूहरूको संलग्नता नरहेको स्पष्टीकरण दिएकोप्रति आपत्ति जनाएका छन्।

प्रधानमन्त्री कार्यालय संलग्न थियो वा थिएन भन्ने मुख्य विषय नभई मुलुकको चौथो अङ्गमाथि यस्ता हरकत हुँदा सरकार स्पष्टीकरण दिएर पन्छिने वा सरकारका रूपमा प्रस्तुत हुने भन्ने प्रश्न मुख्य रहेको उनको भनाइ छ।

सत्तारूढ पार्टीले गिरफ्तारीलाई गैरकानुनी भनी समयमै सही कुरा बोलेको भए पनि यस्ता गैरकानुनी कर्मको निरन्तरता प्रवृत्ति बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्। सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्र गर्ने हो वा रक्षा पनि गर्ने हो भनी उनले प्रश्न उठाएका छन्।

गिरफ्तारी गैरकानुनी भनिराखेर सरकार बनाउने पार्टीको दायित्व नसकिने र त्यस्ता गैरकानुनी धन्दा नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्नुपर्ने तथा मान्नुपर्ने उनले बताएका छन्।

स्वतन्त्र तर उत्तिकै मर्यादित प्रेसको पक्षमा रहेको स्पष्ट पार्दै गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित विधि रहेकाले तिनैको अनुसरण गर्नुपर्नेमा उनले जोड दिएका छन्। संविधानप्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुन्ड्याउने गैरकानुनी धन्दा बन्द गर्न र पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने उनको माग छ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *