हुम्ला–सुर्खेत सडक जीर्ण
हुम्ला – हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ । वर्षा होस् वा घाम, जुनसुकैबेला पहिरो खसिरहने भएकाले यात्रा गर्न कठिन भएको हो ।
सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ । कर्णाली करिडोरको यो वास्तविकताले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि पुनःप्रश्न उब्जाएको छ ।
सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने जोखिमपूर्ण यात्रा पार गरेपछि कर्णाली करिडोरको अवस्थाप्रति आक्रोश व्यक्त गरे ।
नेपालगन्जको जमुनाहादेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको कर्णाली करिडोर वर्षौंदेखि यात्रुका लागि सास्तीको माध्यम बनिरहेको उनले गुनासो गरे ।
रावतका अनुसार विकास र समृद्धिका ठूला विषयको उठान भए पनि कर्णालीवासीले सुरक्षित सडकमा यात्रा गर्न पाएका छैनन् । सडक निर्माण तथा स्तरोन्नतिका लागि वर्षांैदेखि बजेट खर्च हुँदै आए पनि नागरिकले सहज यात्राको अनुभूति गर्न नसकेको भन्दै उहाँले सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सडकका जोखिमपूर्ण स्थानमा बनाइएका काठे तटबन्धलगायत संरचनाको गुणस्तरमाथि प्रश्न उठाउँदै बजेट खर्चको प्रभावकारिता र निर्माणको अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । जनताले दैनिक भोग्नुपरेको कठिनाइ प्रत्यक्ष अनुभूति गरेपछि सडकको वास्तविक अवस्था बुझ्न सकिने उनको कथन थियो ।
सर्केगाड गाउँपालिका–१ को खच्चामा होटल व्यवसाय गर्दै आएका डिलबहादुर कार्कीले सडकको स्तरोन्नति नभएकाले सास्ती व्यहोर्नुपरेको गुनासो गरे ।
त्यसैगरी, स्थानीय नवराज महताराले कबाडी–सलिसल्ला सडकखण्डको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याए ।
सडकको जोखिमपूर्ण अवस्थाले यात्रु तथा मालसामान ढुवानीमा समस्या सिर्जना गर्नुका साथै आपतकालीन अवस्थामा आवतजावत गर्नसमेत कठिन भएको स्थानीयवासीले बताएका छन् ।
कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग हो । उक्त सडकले स्थानीय नागरिकको आवतजावत, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्वास्थ्य उपचार र पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्छ, तर सडकको जोखिमपूर्ण अवस्थाका कारण नागरिकले सहज र सुरक्षित यात्राको प्रत्याभूति पाउन सकेका छैनन् ।
प्राकृतिक विपत्तिका कारण पहिरो तथा सडक अवरुद्ध हुने समस्या देखिए पनि जोखिम न्यूनीकरण, नियमित मर्मतसम्भार र निर्माण भएका संरचनाको गुणस्तर सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो । कर्णालीवासीको अपेक्षा विकासका आश्वासन र भाषणमा मात्रै सीमित छैन । उनीहरू सुरक्षित सडक र भरपर्दो यातायात सुविधा चाहन्छन् ।
सर्केगाडदेखि सुर्खेतसम्मको तीनदिने कठिन यात्राले उठाएको प्रश्न हो यो । कर्णाली करिडोरको जोखिम न्यूनीकरण र स्तरोन्नतिका लागि सरकारले प्रभावकारी कदम कहिले चाल्छ ? भन्ने हुम्ली नागरिकको सरकारसँग प्रश्न छ । यहाँका सर्वसाधारणको जिज्ञासा यहाँ पाइन्छ ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।