सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशकमा तिमसिना
काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशकमा किरण तिमसिनालाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकले तिमसिनालाई केन्द्रको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो। असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले तिमसिनालाई कार्यकारी निर्देशक बनाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिएका छन्।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस समितिको कार्यालयले ६ जनाको नाम सर्टलिस्ट गरेको थियो। तिमसिनाले नारायणप्रसाद घिमिरे, ध्रुव ज्ञवाली, डा भोजराज घिमिरे, ई. निराजन पन्थी र डा. श्रीधर मरासिनीलाई दौडमा पछि पार्दै कार्यकारी निर्देशक नियुक्त भएका छन्।
तिमसिना फोर्ब्स अन्डर ३० मा समेत परेका युवा उद्यमी समेत हुन्। प्रधानमन्त्री कार्यालयको प्रस्तावमा गत भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुसार यस्तो केन्द्र स्थापना गर्दै कार्यकारी निर्देशक नियुक्त गरिएको छ। सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन केन्द्र स्थापना गरिएको हो।
केन्द्रमा विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीसहित कुल ३० जना कर्मचारी रहने व्यवस्था गरिएको छ। केन्द्रले सार्वजनिक निकायबाट माग भएबमोजिम सफ्टवेयर विकास, स्तरोन्नति र मर्मत सम्भारसम्बन्धी काम गर्ने, केन्द्र आफैँले निर्माण गरेका सफ्टवेयर प्रणाली वा सार्वजनिक निकायबाट माग भई आएका विभिन्न लिगेसी सफ्टवेयर प्रणालीको स्तरोन्नति र मर्मत सम्भारसम्बन्धी काम गर्नेछ।
त्यसैगरी केन्द्रबाट विकास गरिएका विभिन्न सफ्टवेयर प्रणालीहरूका लागि चौबीसै घण्टा प्राविधिक सहायता उपलब्ध गराउने, सूचना प्रविधि प्रणालीको सफ्टवेयर रिक्वायरमेन्ट स्फेसिफिकेशन (एसआरएस) तथा डिजिटल पूर्वाधारको प्राविधिक स्पेसिफिकेसन तयार गर्न सेवा उपलब्ध गराउने, सफ्टवेयर विकासको क्रममा आवश्यक सुरक्षा मापदण्डलगायत असल अभ्यासको अनुसरण गर्ने काम केन्द्रले गर्नेछ।
यस्तै केन्द्रले सफ्टवेयर विकास, मर्मत सम्भार र स्तरोन्नतिको क्रममा डाटाको सुरक्षित होस्टिङ, प्रशोधन, ब्याकअप, पहुँच नियन्त्रण तथा प्राविधिक संरक्षणको उचित व्यवस्थापन गर्नेछ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।