देउवा समूहले आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।
देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिए । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।
देउवा समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा, असोज २० गते गाउँ तथा नगरपालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ। त्यस्तै, मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।
नेता साउदका अनुसार महाधिवेशनको तिथिमितिसहितको विवरण निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गरिएको हो।
यसअघि कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाइसकेको छ। संस्थापन र देउवा समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्र पार्टीको आधिकारिकता र महाधिवेशन प्रक्रियालाई लिएर विवाद देखिएको छ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।