कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद
काठमाडौँ – जलवायु परिवर्तन न्यूनीकरण तथा दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर ९जिरो वेस्ट० को भूमिका उजागर गर्ने उद्देश्यले क्रिएसन नेपालको आयोजनामा कोप–३१ अन्तर्गत विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको राष्ट्रिय पेभिलियनमा आयोजित कार्यक्रममा क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले छलफलको सहजीकरण गर्दै दिगो फोहोर व्यवस्थापनका लागि सबै पक्षको सक्रिय, समावेशी र एकीकृत सहभागिता आवश्यक रहेको बताइन् ।
छलफलमा अफ्रिका सर्कुलरका बीएसएफ सिस्टम्स विज्ञ पिओत्र बार्चाक, दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम ९साकेप०का महानिर्देशक नोर्बु वाङ्चुक, चिलीको राष्ट्रिय फोहोर सङ्कलक सङ्घकी अध्यक्ष तथा रेडलाक्रेको अन्तर्राष्ट्रिय सचिवालय सदस्य सोलेदाद मेल्ला र इन्टरएक्टिभका संस्थापक महाप्रबन्धक तथा उपाध्यक्ष एवं क्लाइमको टर्कीका कार्यकारी बोर्ड सदस्य भोल्कान उराल सहभागी थिए ।
बार्चाकले बीएसएफ प्रणाली तथा फोहोर व्यवस्थापनका व्यावहारिक समाधान र विश्वव्यापी अनुभवमार्फत चक्रीय अर्थतन्त्रतर्फको सङ्क्रमणलाई तीव्र बनाउने उपायबारे धारणा राखे ।
त्यस्तै, वाङ्चुकले दक्षिण एसियाली क्षेत्रीय दृष्टिकोण प्रस्तुत गर्दै दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनका लागि क्षेत्रीय सहकार्य तथा साझेदारीको आवश्यकतामा जोड दिए ।
मेल्लाले फोहोर सङ्कलन तथा व्यवस्थापनमा संलग्न श्रमिकहरूको भूमिका, उनीहरूको योगदानको पहिचान र समावेशी फोहोर व्यवस्थापन प्रणालीको महत्त्वबारे चर्चा गरिन् ।
त्यसैगरी, उरालले उद्योग क्षेत्रको दृष्टिकोणबाट चक्रीय समाधान, स्रोतको पुनःप्राप्ति तथा दिगो फोहोर व्यवस्थापनका सम्भावना र व्यावहारिक उपायबारे धारणा राखे ।
कार्यक्रममा शून्य फोहोरको भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता, समावेशी सहभागिता र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइयो ।
फोहोरमैला व्यवस्थापनलाई सरसफाइमा मात्र सीमित नराखी जलवायु परिवर्तन न्यूनीकरण, स्रोत संरक्षण र दिगो विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत छलफलले दिएको छ ।
क्रिएसन नेपालले शून्य फोहोरतर्फको परिवर्तनलाई गति दिन सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा आम नागरिकको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस अभियानमा नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताएको छ ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।