Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

NepalBeat
NepalBeat ३ घण्टा अगाडि

काठमाडौँ  – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले उम्मेदवार र मतदाता धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको तथा साँझ मतदान सुरु गर्दा रातिसम्म बस्नुपर्ने अवस्था आउने भएकाले शुक्रबार बिहानदेखि मतदान गर्न लागिएको जानकारी दिए। उनका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३१७ रहेको उनले बताए।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए। उनका अनुसार मतपत्रमा हस्ताक्षर गर्न उनीसहित ३२ जना वरिष्ठ अधिवक्ता खटिएका छन्।

शुक्रबारको बसाइँ र खानाको खर्च पार्टीले व्यहोर्ने

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको शुक्रबारको होटल बसाइँ र खानाको खर्च पार्टीले नै व्यहोर्ने भएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले प्रतिनिधिलाई थप आर्थिक भार नपर्ने गरी शुक्रबारको बसाइँ र खानाको खर्च पार्टीले व्यहोर्ने जानकारी दिए।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

निर्वाचन समितिले प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश

खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह

हिमाल हल — गण्डकी प्रदेश

तराई–मधेस हल — मधेश प्रदेश

पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिका अनुसार ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमा जानुपर्नेछ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।

रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न दिइने निर्वाचन समितिले जनाएको छ। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन।

उम्मेदवारी प्रक्रिया पूरा

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

मतदानपछि मतगणना

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी मतगणना सुरु गरिनेछ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। शुक्रबार हुने मतदानबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *