Nepal Beat
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी

NepalBeat
NepalBeat १० घण्टा अगाडि

काठमाडौँ । नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ महाधिवेशन मार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् ।

पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दाबी समेत गरेका छन् ।

नयाँ विधानमा हरेक वडाबाट ३५ वर्ष मुनिका एक महिलासहित कम्तीमा ती युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन् । तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ । त्यो अनुसार औसतमा ५ जना निर्वाचित हुन्छन् भन्ने मान्दा ३३ हजार ७१५ जना ३५ वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् ।

त्यसैगरी, हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ । नेपालमा अहिले गाउँपालिका तर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिका तर्फ ३ हजार ५२८ वडा रहेका छन् । त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरूमा ३ हजार ५२८ मा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन् ।

यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदीय जिम्मेवारी लिएका छन् । ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धीहरू रहेकाले कांग्रेसको अधिवेशनमा झण्डै एक लाख युवाले महाधिवेशनमा प्रतिष्पर्धा गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन् ।

तीनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुँदैछन् ।

त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरू मध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरीबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक–एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।

नयाँ विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रदेश प्रतिनिधि हुने छन् भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन् ।

केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन् ।

 

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *