तनहुँ, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ। शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐना पहरामा मर्स्याङ्दी नदी किनारमा खसेर दुर्घटना भएको हो ।
उक्त बसमा चालकसहित ४३ जना सवार रहेकामा २७ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। मृतक २६ जनाको पहिचान खुलेको र एक जनाको पहिचान गर्न बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ।
केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस भदौ ४ गते रुपन्देहीको बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको खुलेको छ । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो । घुम्ती कटेर सीधा बाटोमा आएर बस नदीमा खसेकाले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।