काठमाडौं, ३१ साउन। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको हो। घटेको मूल्य शुक्रबार बिहान १ बजेबाट लागू हुने निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पनि नयाँ मूल्य तोकेको हो। निगमले तय गरेको मूल्य देशका विभिन्न ठाउँअनुसार लागू हुनेछ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ ५० पैसा पर्नेछ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १६४ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५४ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ पर्नेछ।