तनहुँ, ५ भदौ। तनहुँको घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्गमा आवतजावत पूर्ण रूपमा बन्द भएको छ।

 

बुधबार साँझ घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो । राजमार्गमा ठूलो पहिरो खसेकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन्। उनका अनुसार भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ।

 

पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। पहिरो गएको ठाउँ नजिकैबाट साना सवारी साधन जाने वैकल्पिक मार्ग भए पनि ठूला सवारी साधन उक्त बाटो भएर जान सक्ने अवस्था छैन।

 

ठूला सवारी साधनलाई तनहुँको डुम्रेबाट लमजुङको सुन्दरबजार, दुइपिप्ले हुँदै पोखरा तर्फ पठाइएको छ पोखराबाट छुट्ने गाडीलाई पनि सोही मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया