भक्तपुर, ३१ साउन। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोही दिशातर्फ ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट शव शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।
मृतकको पहिचान अझै पुष्टि हुन नसकेको प्रहरीको भनाइ छ। साँझतिर प्रहरीले मृत्यु हुनेमा दोलखाको मोलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली रहेको जानकारी दिएको थियो। तर पछि आफ्नो परिचय सहित सुष्मा नेपाली प्रहरीको सम्पर्कमा आएकी थिइन्।
शुक्रबार प्रहरीले मृतकको पहिचान गरेको थियो। मृत्यु हुनेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोइराला भन्ने खुलेको प्रहरीको भनाइ छ। शुक्रबार बिहान मृतकका श्रीमतीसहित आफन्तहरू उपस्थित भएर शव सनाखत गरेका प्रहरीले बताएको छ।
दुर्घटनापछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै ट्राफिक आइल्याण्ड र ट्रक तोडफोड गरेका थिए। प्रहरीले पनि भिड नियन्त्रण गर्न भन्दै अश्रुग्यास प्रहार गरेको थियो।
प्रदर्शनकारीहरूले ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरूमाथि पनि हातपात र दुर्व्यवहार गरेका थिए। ट्राफिक प्रहरीले सडकमा चेकिङ गर्ने क्रममा दुर्घटना भएको भन्दै प्रदर्शनकारीहरूले ट्राफिक प्रहरीमाथि हातपात र दुर्व्यवहार गरेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी कार्कीले ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नेहरूको खोजी भइरहेको बताए। कतिपय ट्राफिक प्रहरीलाई चोटपटक समेत लागेको भन्दै उनले सामाजिक सञ्जालमा आएका भिडियो तथा फोटोहरू हेरेर ट्राफिक प्रहरीलाई दुर्व्यवहार गर्नेको पहिचान गरी कारबाहीको दायरामा ल्याउने बताए।
दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।