काठमाडौं, २६ असार : सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।

 

बुधबार सहकारी पीडितहरुसँगको छलफलमा समितिका सभापति सूर्य थापाले जेलमा भएका सहकारी सञ्चालकहरुसँग पनि कानुन अनुसार सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् ।

 

वचत रकम हिनामिना गर्ने उद्देश्यले एउटै व्यक्तिले विभिन्न शहरमा छुट्टाछुट्टै सहकारी सञ्चालन गरेको पाइएको भन्दै सभापति थापाले ठगी गर्ने नियतका साथ आएका यस्तै केही व्यक्तिहरूको कारण अहिलेको सहकारी समस्या आएको बताए ।

 

उनले सरकारले र संसद्‌ले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरुलाई न्याय दिलाउने गरी काम गर्ने बताए । एउटै मान्छे चितवनमा कोषाध्यक्ष, पोखरामा अध्यक्ष र नेपालगञ्जमा उपाध्यक्ष, अर्को ठाउँमा ऋण समितिको सदस्य भएको पाइएको उनको भनाई छ । यो कसरी सम्भव भयो भनेर राज्यका निकायहरुबाट भएका लापरबाही सम्बन्धमा पनि खोजविन गरिरहेको सभापति थापाले बताए ।

 

संसदीय छानबिन विशेष समितिले भदौको तेस्रो साता प्रतिवेदन बुझाउने गरी कार्यविधि बनाएर काम गरिरहेको छ ।

प्रतिक्रिया